"यस्तो बेला म के गरुँ” मौन छन् आँखाहरु, मानौं यतिबेला सिङ्गो संसार शोकमा छ। चैन कतै छैन शिर झुकिएको छ, युद्धमा हारेको सिपाही जसरी। शरीर कापिरहेछ; सपनामा छाँगाबाट खसेर बिउँझिदाको अनुभुति जस्तो मन दुखिरहेछ; मानौं यो बर्षौदेखिको पुरानो घाउ हो, भुकम्पको धक्काले हल्लाएपछिको भवन जसरी चर्केको छ छाती, यतिबेला दुई चिरामा छ हाम्रो सम्बन्ध किनारामा अनुत्तरित छु म आफैंतिर तेर्साएर अगणित प्रश्नहरुको लाम, ठिक यही बेला यसै पनि शुन्यतामा हराएको अस्तब्यस्त जिन्दगी भयानक कालकोठरी जस्तो दिशाबिहिन भएको छ, मेरो ब्रह्माण्डमा महाप्रलय आएको यो समयमा आत्मरक्षाका खातिर कतै नेपथ्यमा चिच्याउन खोज्दा निर्दयी समाजले कुटिल प्रश्न गर्यो, छोरा मान्छे भएर किन रोएको? यस्तो बेला म के गरुँ! प्रलयमै मरू? आवाज रोकिनु अगावै अन्तिम फैसला हुनुपर्यो महोदय! ©️-प्रकाश योन्जन(द.कोरिया)
Education/ knowledge/literature & entertainment blog